
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र / प्रतिबद्धता–पत्र निर्माणमा जुटेको नेकपा एमालेले महत्वपूर्ण सल्लाह र सुझाव दिन सबैलाई आग्रह गरेको छ।
एमालेले चैत मसान्तभित्र आफ्ना सल्लाह र सुझावहरु partyhq@cpnuml.org पठाउनका लागि आम जनसमुदायलाई अपिल गरेको छ।
एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ। पोखरेलको संयोजकत्वमा बनेको कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उप–महासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य हुनुहुन्छ ।
अघिल्लो निर्वाचनमा झैं केन्द्रबाट केन्द्रीय घोषणापत्र तयार गर्ने र ७ सय ५३ पालिकामा आ–आफ्नो स्थानीय तहको प्रतिबद्धता–पत्र तयार गर्ने एमालेको तयारी छ। एमालेले पार्टी स्थापना दिवसको दिन वैशाख ९ गते केन्द्र र हरेक स्थानीय तहमा घोषणापत्र तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।
स्थानीय तहको प्रतिबद्धता–पत्रमा देशभरी एउटै ढाँचामा हुने एमालेले जनाएको छ। स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समीक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धिलाई समेटिनेछ ।
स्थानीय तहमा एमालेका उपलब्धी, एमाले पराजित भएका ठाउँमा विगतमा पार्टीले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण त्यसमा आएको अवरोध समेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता–पत्र सार्वजनिक हुनेछ।
एमालेले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको छ। आगामी वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको हो।
एमालेले एक महिलासहित तीन जना सम्भावित उम्मेदवार सिफारिस गर्नुपर्नेछ।