
विराटनगर । सत्तारूढ दलनिकट व्यवसायीले नै संकटका बेला अत्यावश्यक इन्धन ढुवानी रोकेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले नेपाल आयल निगम संकटतर्फ गईरहुकोहुँदा व्यवसायीले कमिसनको बखेडा झिकेर आन्दोलन थालेका हुन् ।
नेपाल आयल निगम र सरकारलाई दबाब दिन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएका उनीहरूले हिजो पेट्रोल–डिजेल ढुवानी ठप्प पारे ।
संस्थागत समन्वय समितिमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ आबद्ध छन् । तीनै संस्थाका अध्यक्षलगायत पदाधिकारी सत्तारूढ दल कांग्रेसनिकटकै हुन् ।
निगमले जायज माग सम्बोधन गर्ने आश्वासन दिए पनि सर्वसाधारणलाई दुःख दिन व्यवसायीहरूले इन्धन ढुवानी नै बन्द गरेका छन् । चैत ६ देखि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका व्यवसायीले हिजो डिपोबाट लोडअनलोड बन्द गरे । हिजो सबैतिर समस्या देखियो ।
यस्तै, सेना, प्रहरी, सशस्त्र प्रहरी र साझाबाहेक निजी पम्पहरूले लोड गरेनन्,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले भन्नुभयो । अमलेखगन्ज, थानकोट, भैरहवा, विराटनगर, नेपालगन्जलगायत डिपोबाट सबैभन्दा बढी इन्धन बिक्री हुन्छ । हिजो यी सबै डिपो पूर्ण रूपमा प्रभावित बनेको जनाइएको छ ।
‘प्रहरीले ६० हजार लिटर डिजेल किन्यो, यसबाहेक निजी व्यवसायीले तेल उठाएनन्,’ अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भन्नुभयो । सेना, प्रहरी र साझाका पेट्रोल पम्पले करिब १ सय २० किलोलिटर पेट्रोल र ८० किलोलिटर डिजेल उठाएको थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले बताउनुभयो। निजी पम्पहरूले भने इन्धन नउठाएको उहाँको भनाइ छ ।