
जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाटै आज नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंकको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ ।
जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको थियो । प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिनेछ ।
कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रु बिनाको) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।