
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताउनुभएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।
लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताउनुभएको छ । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उहाँले बताउनुभयो ।
उहाँले पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा आफुहरु सहमत भएको भन्दै पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन जोड दिएको बताउनुभयो । यो परियोजना विकासका लागि गेम चेन्जर परियोजना बन्ने समेत विश्वास ब्यक्त गर्नुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको भन्दै अहिले पनि नेपालले भारतमा विद्युत निर्यात गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उहाँले बताउनुभयो ।
नेपाल पुलिस एकेडेमी, नेपालञ्जमा एकीकृत भन्सार जाँच चौकी, रामायण सर्किट आदिले यसलाई सघाउने भन्दै उहाँले भन्नुभयो,‘ खुल्ला सीमाको दुरुपयोग नहोस् भनेर छलफल गर्दै सुरक्षा सहयोगमा जोड दिएका छौं ।’