नेपाल बार एशोसियशनमा नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।

नेपाल बार एशोसिएशनको २६ औं केन्द्रिय कार्य समिति चयनका लागि देशभरका ३५ स्थानबाट मतदान भइरहेको हो। बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरूसहित २५ जनाको कार्य समिति चयन हुनेछ।

बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ। अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार केही स्थानमा भने मतदान सकिएको छ । भने धेरैजसो मतदान केन्द्रहरूमा ५० प्रतिशत भन्दा बढि मतदान भइसकेको छ। निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन्।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरू काठमाडौंमा ल्याइनेछ। त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको छ ।

नयाँ कार्यसमितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा छ।

सो समूहहरू मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

Back to top button