
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखला अन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य दिएको छ ।
दीपेन्द्र सिंह ऐरीले १ सय १० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २ सय २३ रन बनाएको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २ सय ३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो।
दीपेन्द्र ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गर्नुभएको थियो । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित १ सय १० रन बनाउनुभयो ।
यस्तै रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गर्नुभएको छ । रोहितले ३४ बल खेल्दै ५ चौकाको मद्दतमा ५१ रन बनाउनुभयो । दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्नुभएको छ ।
ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाउनुभयो । आरिफ शेख २ रन बनाएर आउट हुनुभयो । आदिल अन्सारीले १४ रन जोड्नुभयो भने आदिलले रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गर्नुभयो ।
बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १/१ विकेट लिनुभयो ।