वडा तहसम्मै चुनावी तालमेल गर्ने प्रदेश १का गठबन्धन दलको निर्णय

विराटनगर। प्रदेश १ का गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।

शनिवार इटहरीमा बसेको गठबन्धनको बैठकले प्रदेश १ का १३७ वटै पालिकामा चुनावी गठबन्धन गर्ने सहमति गरेका हुन ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको प्रदेशस्तरका नेताहरू बसेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले बताउनु भयो ।

गठबन्धनबाहेकका दलहरू राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चलगायतका दलसँग पनि तालमेलको लागि छलफल गर्ने निर्णय गरेको चौधरीले जानकारी दिनुभयो । गठबन्धनभित्र भागबन्डाका लागि दुई दिनभित्र खाका तयार गर्ने सहमति भएको समेत उनको भनाइ छ । ‘दुई दिनभित्रमा कुन पालिकाका कुन पार्टीले प्रमुख–उप्रमुख लिने वडामा क–कसलाई दिने भनेर दलभित्र आन्तरिक छलफल गरेर अन्तिम टुंगो लगाउँछौँ,’ चौधरीले भन्नुभयो, ‘त्यसपछि उम्मेदवार छनोटमा लाग्छौँ ।’

गठबन्धनभित्रका दललाई चुनावी गठबन्धनमा अगाडि बढाउन एक कार्यदल बनाइएको छ ।

कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङलगायतका नेता कार्यदलमा रहनु भएको छ। गठबन्धनमा राप्रपा र लिम्बुवान पनि थपिने सम्भावना रहेको बैठकमा सहभागी एक नेताले बताउनु भयो ।

बैठकले प्रदेशका प्रमुखहरू रहेको अनुगमन संयन्त्र पनि बनाएको छ । बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धव थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी)का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत तथा अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङलगायतका नेताहरू बैठमा सहभागी हुनुहुन्थयो ।

Back to top button