ब्राजिलमा बाढीपहिरोका कारण १४ जनाको मृत्यु

ब्राजिलमा भीषण वर्षासँगै आएको बाढीपहिरोका कारण १४ जनाको मृत्यु भएको छ।

ब्राजिलको दक्षिणी तटीय सहर र रियो दि जेनेरियोको फ्लुमिनेन्सीमा पहिरोले हिजो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

उद्धारकर्मीले पछिल्लो २४ घण्टामा १ सय ४४ जनाको उद्धार गरेका छन्। रियो दि जेनेरियोमा पछिल्लो केही हप्तादेखि मौसमी गतिविधि अस्थिर छ।
गएको फेब्रुअरीमा रियो दि जेनेरियोको पहाडी क्षेत्र पेत्रोपोलिसमा बाढी तथा पहिरोका कारण २ सय ४० जनाको ज्यान गएको थियो।

पछिल्लो बाढी तथा पहिरोका कारण ७० भन्दा बढी परिवार घरबारविहीन भएका छन्। लेदोसहितको पहिरोले बाटो अवरुद्ध भएको छ।

पाराती क्षेत्रमा एकैदिन ३सय २२ मिलिमिटर वर्षा भएको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ। यो वर्षा ६ महिनामा हुनुपर्ने औसत बराबरको हो। पारातीमा मात्रै ५ जनाको ज्यान गएको हो।

Back to top button