
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुग्नुभएका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को रिटमा आज सुनुवाइ हुँदैछ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गतबिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।
लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उहाँहरू रिट लिएर सर्वोच्च पुग्नुभएको हो । रिटमा उहाँहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गर्नुभएको छ ।
उहाँहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिनुभएको थियो । समितिले कैफियत नदेखिएको ठहर गरेपछि गतबिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस हुनुभएका डीआईजीहरूको बढुवा गरेको थियो।
यस्तै, बढुवा हुनुभएकाहरूमा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक हो । उहाँहरूलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको हो।
वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा हुनुहुन्थ्यो। पाण्डे नेतृत्वको समितिले वरियता मिचेर कनिष्ट डीआईजीहरूलाई एआईजी बनाएपछि उहाँहरू बढुवा समिति हुँदै सर्वोच्च पुग्नुभएको हो ।