
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच तालमेल हुने भएपछि जनविरोधीहरुको निन्द्रा हराएको बताउनुभएको छ ।
आज समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चुनावी तालमेलको निर्णयले जनतामा भने उत्साह थपिएको बताउनुभयो ।
उहाँले यो निर्णयले जनविरोधीको मुख चाउरिएको, निन्द्रा हराएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘त्यसैले जथाभावी बोल्न थालेका छन् । बेहोस हुुन बेर छैन ।’
अध्यक्ष नेपालले अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गर्नुभयो । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादी पार्टीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले ठूलो दलको हैसियतमा सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी कायमै रहेको भन्दै गठबन्धनका बीचमा प्याकेजमै सहमति हुने बताउनुभयो ।