
काठमाडौं । नेकपा (एमाले) ले परोपकार र मानव सेवामा समर्पित रहने उद्देश्यसहित सामाजिक सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।
समस्या परेकाहरुलाई राहत दिने गरी यस अभियान सुरु गरिएको एमालेले जनाएको छ। उद्योग विभाग प्रमुख मोतिलाल दुगडको अग्रसरतामा एमालेले यस अभियान सञ्चालनमा ल्याएको हो। सो कार्यक्रम अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ ।
यो अभियानले जनतामाझ राजनीतिक दलहरु भोट माग्ने बेला मात्रै आउँछन् भन्ने मान्यता हटाउने एमालेको दाबी छ।
यस्तै, केन्द्रको मुख्य उद्देश्य राजनीतिक दलले पनि मानवसेवा, जनताका दुःख र समस्या समाधान गर्न जुनसुकै बेला तयार हुन्छन् भन्ने प्रमाणित गर्ने एमालेले जनाएको छ ।
यसमार्फत एमालेले प्रत्यक्ष सहयोग लिएर जनतामाझ जाने जनाएको छ। प्राकृतिक प्रकोप, आगलागीजस्ता चपेटामा परेका जनतालाई नगद, खाद्यान्न र दैनिक उपभोग्य सामान समेत सहयोग गर्ने उद्देश्य राखिएको छ।
केन्द्रको संरक्षकमा एमाले अध्यक्ष रहनुहुने छ । यसलाई सञ्चालनको लागि एमालेले एक संरक्षक कमिटी निर्माण गर्नेछ। केन्द्र देशैभर सञ्चालन गर्ने एमालेको तयारी छ।
यसमार्फत पार्टी कार्यकर्तालाई सामाजिक सेवामा परिचालन गरिनेछ। केन्द्रीय कमिटीले नै हेर्ने गरी केन्द्र स्थापना हुने एमालेले जनाएको छ।