माधव नेपालसहितका १४ सांसदविरुद्धको मुद्दाको आज सुनुवाई हुन सकेन

काठमाडौं । न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेपछि आज हुने भनिएको सुनुवाई रोकिएको छ ।

न्यायधिश सुवेदीले आफुले यो मुद्दाको सुनुवाई गर्न नमिल्ने भन्दै इजलासमा बस्न अस्वीकार गर्नुभएको हो । सर्वोच्च अदालतको आजको दैनिक पेशी सूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तयारी थियो।

न्यायाधीश सुवेदीले यसअघि नै सोही प्रकृतिको मुद्दाअन्तर्गत एमालेबाट एकीकृत समाजवादी रोजेका सोमप्रसाद पाण्डेको मुद्दा हेरेको भन्दै आजको मुद्दाको सुनुवाइ नगर्ने अडान लिनुभएको हो ।

यसअघि सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। फैसलाका लागि मिति भने तोकिएको छैन।

एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । गत भदौ १७ गते परेको रिट निवेदनमा पटक–पटक सुनुवाइ सर्दै आएको छ।

Back to top button