स्थानीय तह निर्वाचनमा यसकारण गठबन्धन गर्दैछन् दलहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको स्थानीय निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन चाहनुभएको छ ।

अघिल्लोपटक उहाँकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हार्‍यो। हारको दोष पार्टीको संस्थापनइतर पक्षले उहाँमाथि नै थोपरिदिए। राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चाहनुहुन्छ।

त्यसकै लागि संसदमा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कस्नुभएको हो । तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा. दाहालको छ।

पहिलो– निर्वाचनमा डा. शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो– गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र एमालेसँग प्रतिस्पर्धा।

हुन पनि शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो। मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सार्‍यो। तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मतमात्र शेखर पक्षको दर्ज भयो।

तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा दाहाल लिनुहुन्छ । देउवाका लागि यो एउटा चुनौती भएको उहाँले बताउनुभयो।

गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन्।

आक्रोश पोख्नेहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म हुनुहुन्छ । गठबन्धनमा रहेकै दल र तीनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउने गरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सक्नुभएको छैन । गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन। तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने ‘मोडालिटी’को पक्षमा कांग्रेस छ।

यसप्रति माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन्। यसलाई पनि डा. दाहाल चुनौतीको रूपमा लिनुहुन्छ । अहिले बलियो प्रतिस्पर्धी एमाले छ।

एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालदेखि नेपाल मजदुर किसान पार्टीको गठबन्धन बन्ने सम्भावना बढेको छ। गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती थपिने उहाँले बताउनुभयो ।

अर्का राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्नुहुन्छ, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ। यो चुनौती हुन सक्छ।’

यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ। पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य।

यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो। स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुँदैछ।

Back to top button