कानुनले तोकेको जिम्मेवारी प्रतिवद्ध भई पूरा गर्छुः मोरङ प्रहरी प्रमुख कोइराला

विराटनगर । खर्भरै सुरुवा भई मोरङ प्रहरीको मोर्चा सम्हाल्न आउनुभएका प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले कानुनले तोकेको जिम्मेवारी प्रतिबद्ध भई पूरा गर्ने बताउनुभएको छ ।

बिहान जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा उहाँले नियम र कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

उहाँले आफुले यो गर्छु र त्यो गर्छु भनेर नभन्ने भन्दै नियम र कानुनअनुसार चल्ने र ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने बताउनुभएको छ ।

शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानका लागि ऐन, कानुन एवम् प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्न भने कुनै समस्या नहुने उपरीक्षक कोइरालाले बताउनुभयो ।  ‘प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो’ उहाँले भन्नुभयो,‘कानुनभन्दा बाहिर गएर कसैले पनि काम गर्न सक्दैन ।’

आफुले कुनै नयायँ कार्ययोजना नबनाएको बताउनुभएका उपरिक्षक कोइरालाले सबै पक्षसँग समन्वय गरेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नियमित काम भने हुने बताउनुभएको छ ।

मोरङमा प्रहरीलाई राजनैतिक दबाब धेरै आउँछ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उपरिक्षक कोइरालाले कुनै प्रशङ्गलाई लिएर कसैले राखेको जिज्ञासालाई दबाब भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र विभिन्न खालका अपराध नियन्त्रणमा भने कुनै कसर बाँकी नराखिने भन्दै तस्करीको लाइन चलाउनेलाई कारबाहीको दायरामा ल्याइने समेत बताउनुभयो ।

समाजमा कानुन उल्लङ्घनका घटना हुन नदिन नागरिक अनुशासन पनि आवश्यक देखिएको उपरीक्षक कोइरालाले बताउनुभयो । मोरङ प्रहरी प्रमुख कोइरालाले प्रहरी अहिले नजिकिँदो स्थानीय तह निर्वाचनतर्फ केन्द्रित भएको जानकारी दिनुभयो ।

‘शान्तिपूर्ण, भयरहित र निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गर्नेतर्फ प्रहरी केन्द्रित छ,’ उहाँले भन्नुभयो,‘निर्वाचनमा कुनै पनि घटना हुन नदिन चनाखो भएर सुरक्षा व्यवस्था मिलाइने छ ।’

प्रहरी प्रधान कार्यालयले गत चैत १४ गते एसपी कोइरालालाई मोरङ प्रहरी प्रमुखका रूपमा काज सरुवा गरेको हो । गत शनिबार मोरङ आएर उहाँले आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।

Back to top button