गाँजालाई बैधानिकता दिनुपर्ने मागसहित धनकुटामा सचेतना मेला

धनकुटा । धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने मागसहित सचेतना मेला शुरु भएको हो ।

भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ स्थित अखुवा टारमा जारी मेलामा गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । अभियान्ताहरुले गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् ।

गाँजाको बिरुवामा पानी हालेर उद्घाटन गरिएको सचेतना मेलामा वक्ताहरुले संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागु औषधबाट हटाएको स्मरण गराउँदै नेपालमा पनि वैधानिकता दिनुपर्ने माग राखेका हुन् ।

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाख रुपैयाँसम्म रहेको जानकारी गराउँदै अभियान्ताहरुले नेपालको लागि गाँजा आयश्रोतको प्रमुख साधन हुने दाबी गरेका छन् ।

गाँजाबाट सयौं औषधि र मानव उपयोगी वस्तुहरु बनाउन प्रयोग हुने भएकाले यसलाई वैधानिकता दिएर किसानहरुको प्रमुख आयश्रोत बनाउनुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघका अधयक्ष ऋषिकेशजंग शाह, गाँजा वैधानिक अभियान्ता जोसेफ मदन कोईराला, सहिदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राईलगायत स्थानीय कृषकका प्रतिनिधिहरुले धारणा राख्नुभएको छ ।

हिजो शुरु भएको मेलामा गाँजा सम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले बताउनुभएको छ ।

नेपाल सरकारले गाँजालाई लागु औषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक वर्ष ३० जना भन्दा बढी व्यक्ति गाँजाको कारोबारको आरोपमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा मात्र वार्षिक करोडौं रुपैयाँ मूल्य बराबरको गाँजा उत्पादन हुने गर्दछ ।

Back to top button