एमाले निर्वाचनमा एक्लै जान्छ: विष्णु प्र. पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेले कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

उहाँले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताउनुभया । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उहाँले दाबी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “यो स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ । पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ । र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दैछौँ । त्यसकारणले नेकपा(एमाले)ले कसैसँग गठबन्धन गर्दैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ। खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखेहुन्छ ।”

उहाँले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उहाँले सो कुरा हास्यास्पद भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेसँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन् । सम्वाद गर्नुपर्ने आवश्यकता पनि छैन । र यो नेकपा (एमाले)सँग सम्वाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ । कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ हामी अनुमान गर्न सक्छौँ । म स्पष्ट गर्न चाहान्छु, माओवादी केन्द्रसँग नेकपा(एमाले)को कुनैपनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि हिसाबले वार्ता भएको छैन । वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । र जहाँसम्म गठबन्धनको प्रश्न छ, नेकपा(एमाले)का अध्यक्षले आत्माआलोचना गर्नुपर्ने यो हास्यास्पद कुरा हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरुले बनाइरहनु भएको छ । दुनियाँलाई थाहा छ हिजो उहाँहरुले कथित जनयुद्ध सुरु गर्दा त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरुले कथित जनयुद्ध सुरु गर्नुभएको थियो । आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरुले यो सरकार बनाइरहनु भएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । यसप्रति उहाँहरुलाई कुनै पश्चाताप छैन । यसप्रति उहाँहरुलाई कुनै ग्लानी छैन । अझै भन्दै हुनुहुन्छ कि एमालेको अध्यक्षले आत्माआलोचना गर्नुप¥यो । यो सम्पूर्ण रुपमा हास्यास्पद कुरा हो । नेकपा एमालेले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्वका कामहरु गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा एमालेलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।”

Back to top button