चितवनमा पाँचदलीय गठबन्धनको चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति जुटेको छ ।

बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप आपसमा सम्मान र हार्दिकता विकास गर्दै संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको जनाइएको छ ।

सहमतिपत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गर्नुभएको छ ।

कांग्रेसका जिल्ला सभापति खनालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातवटै पालिकाहरुमा संयुक्त संयन्त्र निर्माण गर्ने र संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।

दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

Back to top button