लता मंगेशकरलाई बिर्सिएर आलोचित बनेको ग्रामी अवार्ड २०२२

काठमाडौं । विश्व प्रसिद्ध ‘द ग्रामी अवार्ड’ समारोहले भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरलाई बिर्सिँदा कार्यक्रमको आलोचना भएको छ।

हिजो राती भएको कार्यक्रममा सन् २०२१ मा जीवन गुमाएका विश्वभरका प्रसिद्ध स्वर्गीय संगीतकर्मीको स्मरण गरिएको थियो । उनै दिग्गज संगीतकर्मीलाई श्रद्धा अर्पण गरिँदा भारतीय दिग्गज गायिका स्व. लता मंगेशकरको नाम छुटेको थियो। संगीतको क्षेत्रमा लता मंगेशकरको ठूलो योगदान छ।

उहाँले बलिउडमा चलचित्रका गीतहरुको लागि अर्कै स्थान बनाउनुभएको थियो । गायनको सक्रिय ८० वर्षमा उहाँले ३६ भाषाका ३० हजार भन्दा धेरै गीत गाउनुभएको थियो। उहाँलाई विश्व प्रसिद्ध चलचित्रको सम्मान समारोह ‘ओस्कर अवार्ड २०२२’ मा स्मरण गरिएको थिएन।

ग्रामीको भव्य समारोहमा संगीतकर्ममा लागेका विश्वका धेरै हस्तीको स्मरण गरिएको थियो। यहाँसम्मकी वैज्ञानिक स्टेफन हकिङ्सको सम्झनामा पनि प्रस्तुतिहरु दिइएको थियो। स्वर्गीय वैज्ञानिकलाई समेत समेटेको सम्मान कार्यक्रमले दिग्गज गायिकालाई भने समेट्न सकेन।

ग्रामी अवार्ड समारोहमा लतालाई स्मरण नगरिएपछि विश्वमा रहेका लताका फ्यान र विशेषगरी भारतमा ग्रामी अवार्ड २०२२ को आलोचना भइरहेको छ। केही दिन अगाडि सम्पन्न अक्सर अवार्ड समारोहमा पनि भारतीय दिग्गज अभिनेता दिलिप कुमारलाई पनि स्मरण गरिएको थिएन ।

Back to top button