
काठमाडौं । त्रिदेशीय टी– २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको फाइनलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रनमा सिमित बन्न पुग्यो ।
पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गर्नुभयो । ३८ बलमा उहाँले ६ छक्का र १ चौका प्रहार गर्नुभयो । चार्ल्स अमिनीले १५ रन बनाउनुभयो भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।
पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुभयो भने करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।
उहाँले आजकै खेलबाट टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । यो श्रृङ्खला नेपाल, पीएनजी र मलेसियाको बीचमा भएको थियो ।