
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिनुभएको छ ।
आज प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाउनुभयो । पाँच दलीय गठबन्धन त दुई दिनको केटाकेटीको खेल हो भन्दै उहाँले भन्नुभयो,‘अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली हो।’
ओलीले यो गठबन्धन अस्थायी भएको टिप्पणी गर्दै भन्नुभयो ,‘स्थायी कुरा त जनताको आदेश हो, जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’
अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड र माधव नेपाल प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गर्नुभयो ।
तत्कालीन नेकपामा प्रचण्ड–माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले यसपटक पार्टीलाई नेताहरूले नभई कार्यकर्ताले जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले प्रचण्ड कम्युनिष्ट नै नभएको भन्दै अझै कतिपयमा भ्रम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले एक पटक भनेको थिएँ– यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन। म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्।’ उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु।
अध्यक्ष ओलीले अगाडि भन्नुभयो,‘ उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु। उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ। उहाँ वामपन्थी आन्दोलन कमजोर पार्ने काम गर्नुहुन्छ, म बलियो बनाउन लाग्छु। मैले एकता गराउने काम गरेँ, उहाँ पार्टी फुटाएर हिँड्नुभयो।’