सर्दै नेकपा एमालेको मुख्यालय

काठमाडौँ । नेकपा एमालेको मुख्‍यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारण एमाले मुख्‍यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।

कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार नयाँ वर्षको अवसरमा वैशाख १ गते मुख्‍यालय सर्ने जानकारी दिनुभएको छ । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर बनेको नयाँ भवनमा रहने बताइएको छ । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ ।

अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिनुभयो । नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् ।

पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको छ । नयाँ भवनमा एउटा ठूलो सभा हल र तीन वटा सभाकक्ष रहनेछन् ।

पार्टी केन्द्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । यस्तै मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ ।

नयाँ भवनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहनेछ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहने बताइएको छ ।

पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्षसमेत बनाइएको छ । पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ भने भुइँ तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष हुनेछ ।

भुइँ तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहनेछ । एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिएको हो ।

विसं २०७२ मा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि एमाले पार्टी कार्यालय संरचनाका लागि घर भाडामा लिई सञ्चालन भइरहेको छ ।

भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिई सञ्चालन गरिएको थियो ।

Back to top button