
युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन्। गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन्। रिपोर्टिङका क्रममा अन्य १३ जना पत्रकार घाइते भएका छन्।
८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
विश्वभरका पत्रकारहरुको बारेमा जानकारी राख्ने रिपोर्टर्स विदआउट बोर्डर्सले भने रुस–युक्रेन युद्धमा ७ जना पत्रकार मारिएको तथ्यांक राखेको छ। यसैबीच अमेरिकाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बन गर्न माग गरेको छ।
युक्रेनको राजधानी किभस्थित बुचा सहरमा रुसी सेनाले कयौँ गैरन्यायिक हत्या गरेको भन्दै अमेरिकाले रुसलाई मानव अधिकार परिषदबाट निलम्बन गर्न आग्रह गरेको हो ।
युक्रेनले यो सहरमा ३ सयभन्दा बढी सर्वसाधारणलाई रुसले एकै चिहान बनाएको आरोप लगाएको छ। संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रोमानिया यात्राका क्रममा रुसलाई मानव अधिकार परिषदको सदस्य बनाउनु लज्जास्पद भएको बताए।