चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा उक्लियो

काठमाडौं । साइमन लिम्बूको ह्याट्रिकप्रेरित चर्च ब्वाइज क्लबले आज बाँसबारी युथ क्लबलाई ५–१ ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको छ ।

चर्च ब्वाइज अन्तिम चरणको खेल बाँकी हुँदै ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भएको छ । शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले १२ खेलबाट २६ अंक जोडेको छ । त्यो दोस्रो स्थानको रानीपोखरी टिम (आरसीटी)भन्दा ८ अंकले बढी हो । आरसीटीले एक खेल कम खेलेको छ ।

तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ । सरस्वतीले पनि एक खेल कम खेलेको छ । आरसीटी र सरस्वती पनि ‘ए’ डिभिजन लिगमा पुनरागमन गर्ने लक्ष्यमा छन् ।

यस्तै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले चार गोल गर्नुभयो भने आशिष चौधरीले एक गोल गर्नुभएको थियो ।

सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो । साइमनले बिक्कु राईको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिनुभएको थियो । १७औं मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले चर्च ब्वाइजको अग्रता दोब्बर बनाउनुभयो ।

३७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका साइमनले ४१ औं मिनेटमा ह्याट्रिक गर्नुभएको थियो । उहाँले पेनाल्टीमा गोल गर्नुभएको थियो । साइमनले चौंथो गोल ८१औं मिनेटमा पेनाल्टीमै गर्नुभयो । सञ्जीव धिमालले ५८औं मिनेटमा गर्नुभएको गोल बाँसबारीका लागि सान्त्वना बन्यो ।

चर्च ब्वाइज ०७५ सालमा ‘सी’ डिभिजन क्वालिफायर खेल्दै एन्फाको आधिकारिक प्रतियोगिताभित्र छिरेको थियो । ‘सी’ डिभिजन लिगमा छनोट भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेता बन्दै ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा पनि चर्च ब्वाइज पहिलो वर्ष नै शीर्ष डिभिजनमा बढुवा हुन सफल भयो ।

यसअघि, मनाङ–मर्स्याङदी क्लब, थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले पनि ‘सी’ डिभिजनबाट लगातार खेल जित्दै शीर्ष डिभिजनमा उक्लन सफल भएका थिए ।

Back to top button