
काठमाडौं । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बताउनुभएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गर्नुभएको थियो । समग्रमा भारत भ्रमण सफल रहेको गठबन्धनले निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
यस अगाडि चैत्र १७ गते बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेलको निर्णय गरेको थियो । सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन्।