राप्रपाले जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने: अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भए कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने बताउनुभएको छ ।

आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कक्षा १२ सम्म निःशुल्क‚ सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवं वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गर्नुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बने गठबन्धन बनाएर जान सकिने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) विचारले एउटै पार्टी भएको आरोप लगाउनुभएको छ । उहाँले यी तीन ठूला दल नामले फरक भए पनि विचारका हिसाबले फरक नभएको आरोप लगाउनुभएको हो ।

Back to top button