सरकारले प्रतिशोध साँधेको हो भने कानुनी बाटो अवलम्बन गर्छुः बस्नेत

विराटनगर । प्रादेशिक खेलकुद बिकास बोर्ड प्रदेश १ का सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले अहिलेसम्म आफूलाई हटाइएको आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।

आज बिहान मात्रै कार्यालयमा हाजिर गरेर निस्किएको बताउनुभएका बस्नेतले सामाजिक सञ्जालहरुबाट भने तिनै पदमा अरुलाई नियुक्ति गरेको जानकारी पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बिहान मात्रै कार्यालयमा हाजिर भएर निस्केको हुँ, अहिलेसम्म सरकारका तर्फबाट कुनै औपचारीक पत्र प्राप्त भएको छैन ।’

उँहाले आफु सदस्य सचिवमा नियुक्त भएदेखि नै खेलाडी र खेलक्षेत्रको विकासका निम्ति तमाम योजना अघि सारेपनि वतर्मान अप्राकृतिक गठबन्धनको सरकारले ६ महिनासम्म बोर्डलाई कुनै काम गर्न नदिई राखेको बिषयमा खेल क्षेत्रले राम्रोसँग बुझेको बताउनुभयो ।

उहाँले राजनैतिक प्रतिशोधकै आधारमा अवैधानिक तवरले नयाँ नियुक्ति गरेको भए कानुनी बाटो अवलम्बन गर्ने बताउनुभएको छ ।बर्षौदेखि नेतृत्व विहिन भएको खेल क्षेत्रले आफु सदस्यसचिव नियुक्त भएलगत्तै प्रदेशका सवै जिल्लामा खेलकुद विकास समिति गठन गर्दै खेलकुदका गतिविfधिलाई चलायमान गरेको स्मरण गराउँदै उहाँले प्रतिशोध साध्नकै लागि बिधि मिचेर गरिने यस्ता हर्कतको खेलक्षेत्रले लेखाजोखा राख्ने समेत बताउनुभयो ।

राजेन्द्र राई नेतृत्वको सरकार बनेसँगै प्रादेशिक खेलकुद बिकास बोर्डको सम्पूर्ण बजेट रोक्का गरिएको थियो । बजेट नपाएपछि खेलकुद क्षेत्रका सम्पूर्ण गतिविधि ठप्प हुन पुगेको थियो ।

भीम आचार्य नेतृत्वको प्रदेश सरकारले नियुक्ति गरिएका बोर्डका पदाधिकारीलाई हटाउँदै राई नेतृत्वको सरकारले उपाध्यक्षमा विराटनगरकी जिनाजङ कार्की र सदस्य सचिवमा ओखलढुङ्गाका हंसराज वाग्लेलाई नियुक्ति गरेको छ ।

Back to top button