
तनहुँ । नाबालिकालाई करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका नायक पल शाहलाई आज नवलपुर लगिएको छ। तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताउनुभयो ।
आज बिहान ७ बजे पछाडि कारागारको टोलीले उहाँलाई नवलपुर लगेको हो। नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उहाँको भनाइ छ। ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरि तनहुँ कारागार ल्याइनेछ’, उहाँले भन्नुभयो।
नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, ‘केहीबेर अगाडि आउनुभएको छ। आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ।’
क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन। ‘गोला थुतेर कसको इजालसमा पर्छ। त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उहाँले भन्नुभयो ।
चैत ३ मा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।
जिल्ला अदालत तनहुँको आदेशविरुद्ध शाह उच्च अदालत पोखरा पुग्नुभएको छ । उच्च अदालतले निवदेनउपर पहिलो सुनवाइ गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ।
सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि शाहविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो।