७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

काठमाडौं । पहिलो पटक सरकारले बालबालिकालाई अभियानकै रुपमा टाइफाइड विरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरि आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म अभियानकै रुपमा खोप लगाइने जानकारी दिएको हो।

वैशाख १८ गतेपछि भने रुबेला दादुराको खोपजस्तै यो खोपलाई पनि बालबालिकालाई लगाइँदै आएका नियमित खोपमा समेटिने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो।

‘पहिलो पटक अभियानको रुपमा एकै पटक देशभरिका ७५ लाख बालबालिकालाई यो खोप लगाउन लागिएको हो, वैशाख १८ गतेपछि भने यो खोप नियमित खोपमा नै समेट्ने छौं,’ उहाँले भन्नुभयो।

एक मात्रा मात्रै लगाए पुग्ने यो खोप अभियानका लागि स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयमा खोप केन्द्र राखिएको र विद्यालय नजाने बालबालिकाहरूका लागि भने आवश्यकताअनुसार वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिने दाहालले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिश गरेको छ। यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एशियामै पहिलो राष्ट्र रहेकोसमेत उहाँले बताउनुभयो।

सन् २०१९ मा गरिएको एउटा अनुसन्धानले नेपालमा ८२ हजार ४ सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरेको थियो। जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा मुनिको उमेर समूहका रहेको हुँदा जोखिमयुक्त उमेर समूहलाई हेरेर खोप अभियान शुरु गरिएको उहाँले बताउनुभयो।

यस्तै, ७५ लाख बालबालिकालाई लगाउन ८० लाख मात्रा खोप गाभीमार्फत अनुदानस्वरूप आएको समेत उहाँले बताउनुभयो।

Back to top button