पेट्रोलियमको मूल्य फेरी बढ्यो, अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभएको छ ।

यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ। निगमका अनुसार प्रति लिटर पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। यसैगरी एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिण्डर १,६०० कायम गरिएको छ।

हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँले वृद्धि गरी प्रति लिटर १५६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि गरी प्रति कि.लि. अमेरिकी डलर १.५४५ कायम गरिएको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट दशौं अर्ब घाटा बेहोरेको निगमले रसिया र युक्रेन बीच जारी युद्ध समेतका कारणबाट पेट्रोलियम पदार्थहरूको अन्तराष्ट्रिय बजार मूल्य उच्च नै रहि रहेको र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको जनाएको छ।

समायोजनले निगमको १ महिनाको अनुमानित घाटा करिब ९ अर्ब २७ करोड रुपैयाँ घाटा हुने उल्लेख छ। नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको संचालक समितिको हिजो बसेको बैठकबाट पेट्रोलियम पदार्थकोआपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय भएको छ ।

करको दायरा चर्को डिजेल, मट्टितेल र एलपी ग्यासमा पनि सरकारले लिने करको दायरा चर्को छ। निगमका अनुसार भन्सार शुल्क , भन्सार सेवा शुल्क , सडक सम्भार , पूर्वाधार विकास, मूल्य स्थिरीकरण कोष, वातावरण र मूल्य अभिवृद्धि कर जोडिन्छ।

यी सबै करको बोझ उपभोक्तामाथि थोपरिएको छ। कर, ढुवानी र डिलरको कमिसन तथा प्रशासनिक खर्च पनि ग्राहकलाई जोडिएको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपालमा समायोजन गर्नुपर्ने आवाज उठेपनि सरकारले बेवास्ता गर्दै आएको छ।

Back to top button