तोकिएकै समयमा काम सक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत भइरहेका काम तोकिएकै समयमा सक्न निर्देशन दिनुभएको छ ।

आज बिहान गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न निर्देशन दिनुभएको हो । उहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताउनुभयो।

उहाँले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थाबारे मन्त्रालयले सकारात्मक रहे पनि मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने प्रष्टीकरण दिनुभयो।

उहाँले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नु पर्ने बताउनुभयो।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको र दोस्रो तथा तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिनुभयो।

यस्तै पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ। आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरू समयमै काम सक्न प्रतिबद्ध प्याकुरेलले बताउनुभयो।

निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको उहाँको भनाइ छ।

Back to top button