थप ३ सय २५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनमुति

काठमाडौं । भारतले थप ३ सय २५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा आज गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित थप ३ सय २५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराउनुभएको छ ।

भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको बजारमा बेच्न अनुमति दिएको हो।

१ सय ४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १ सय ४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जानकारी दिएको छ।

उता ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुली पनि भारतले आफ्नो बजारमा बेच्ने अनुमति दिएको हो।

भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली उसको बजारमा बेच्न यसअघि नै अनुमति दिइसकेको छ।

Back to top button