
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आसन्न स्थानीय निर्वाचनमा कुनै पनि दल सँग तालमेल नगर्ने निर्णय गरेको छ।
आज कांग्रेसको विराटनगर महानगरपालिकाको १९ वटा वडा सभापति सहित बसेको महानगर समितिको बैठकले महानगर क्षेत्र भित्र आफुहरुलाई गठबन्धनको खाँचो नभएकोले कुनै पनि किसिमको गठबन्धन नगर्ने निर्णय गरेको छ।
‘विराटनगर भित्र काँग्रेस एकदमै बलियो अवस्थामा रहेको छ त्यसैले हामीलाई गठबन्धनको खाँचो छैन भन्ने सबै साथीहरुको राय आएकोले , हामीले गठबन्धन नगर्ने निर्णय गरेको छौँ’ , कांग्रेसको महानगर सभापति दिपक चापागाईंले बताउनुभयो।
हाम्रो साथीहरुको मुल्यांकनमा हामी विराटनगर महानगरपालिकाको अधिकांस वडा जित्ने अवस्थामा छौँ त्यसैले हामीलाई कुनै दलको साथ खाँचो नभएको उहाँले बताउनुभयो । ‘हामीले महानगर समिति बाट निर्णय गरिसकेका छौँ, माथि पनि हामी हाम्रो यहि निर्णय पठाउछौँ’।
केन्द्रबाट आफुहरुलाई गठबन्धन लाद्न खोजे आफुहरुले प्रतिवाद गर्न समेत पछि नहट्ने उहाँले बताउनुभयो । केन्द्र बाट आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय भएपनि विराटनगर महानगरपालिकामा आवश्यक नै नभएकोले गठबन्धन गर्नु भन्ने निर्णय आए स्वीकार गर्न बाध्य नहुने चापागाईंले बताउनुभयो।