
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलसहित अघि बढ्ने बताउनुभएको छ ।
छोटो समय र तयारीका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक उपस्थिति हुने भन्दै थापाले स्थानीय तह निर्वाचनमा होमिन नेताहरूलाई आग्रह गर्नुभयो।
केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशयी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिवर्तनको डढेलो लागेका बेला वैकल्पिक मार्गचित्र आवश्यक भएकाले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताउनुभयो।
विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउन आवश्यक भएकाले हामीले कार्यकर्ता र जनतालाई स्पष्ट पार्नुपर्ने समेत थापाले बताउनुभयो। ‘जनतामाझ गएर विश्वास आर्जन गर्नुको विकल्प नभएकाले हामी सबै जनतामाझ जान ढिलाइ गर्नुहुन्न,’ उहाँले भन्नुभयो।
भ्रम चिर्दै अघि बढ्न थापाले नेताहरूलाई आग्रह गर्नुभयो । बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गर्नुभएको थियो भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिनुभएको थियो।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए। घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्न चैत २५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो।