एमाले भोटको हैन विकासको राजनीति गर्ने पार्टी होः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भोटको नभई विकासको राजनीति गर्ने पार्टी भएको बताउनुभएको छ ।

आज नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिलाई पन्छाएर सत्तारुढ गठबन्धन र सरकारले भोटको राजनीति गरेकाले देशको अर्थतन्त्र चौपट भएको आरोप लगाउनुभयो ।

उहाँले यो सरकार जति दिन रहन्छ देश त्यति नै बर्बादीतिर जाने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकार कुहिसकेको र चाँडै ढल्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो,‘कुहिएको फल पनि कुहिने वित्तिकै खत्रक झर्दैन, केहि समय पर्खनुपर्छ ।’

वर्तमान सरकार ढालेको बात नलागोस भनेर आफूहरुले कुनै कोशिश नगरेको भन्दै उहाँले भन्नुभयो, ‘ मान्छे मर्नै लागेको छ, बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला कसैले प्वाक्क हिर्कायो र त्यतिबेलै मर्‍यो भने ज्यान मुद्दा लाग्छ । त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले एमाले र पाँच दलीय गठबन्धन बीच धेरै फरक रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यहीँ हो ।’

उहाँले एमाले सधैं सबैको सुख र समृद्धिका लागि लड्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले आठवटा औद्योगिक क्षेत्र खोलेको, लगानीको वाताबरण बनाएको चर्चा गर्दै जसले छाला जुत्ता उद्योग, सिमेन्ट कारखाना, इँटा टायल खानेहरु नै उल्टै प्रश्न सोध्छन् भन्दै कटाक्ष गर्नुभयो ।

यस्तै उहाँले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने तर्क गर्दै अध्यक्ष ओलीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्नेमा जोड दिनुभयो ।

एमालेले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको उहाँले बताउनुभयो । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएका अध्यक्ष ओलीले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिनुभयो ।

Back to top button