
विराटनगर । विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता आजको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् ।
विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आजको पहिलो खेलमा विरगञ्ज विजयी भएका हो ।
पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापा लगातार दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह वि को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो ।
यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जविच समूह विजेताको लागि भोली लिगको अन्तिम खेल हुने छ ।
टस जितेर ब्याटिङ गरेको विरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो ।
विरगञ्जकालागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आर्चायले २ विकेट लिए ।
१ सय २९ रनको लक्ष पाएको झापाले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउँन सक्यो ।
झापाकालागि सुवाङर उराँव अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए । विरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।
दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अघि नै सेमिफाइनलमा पुगेको छ ।
लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे । इनरुवाकालागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राँय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए ।
१ सय १२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । जनकपुरकालागि म्यान अफ म्याच हिमांसु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए ।
प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ ।
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा जारी प्रतियोगितामा समूहको टप दुई टिम सेमिफाइनलमा पुग्नेछन् । चैत २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
भोलीको पहिलो खेल जनकपुर र राजविराज र दोस्रो खेल आयोजक विराटनगर विरगञ्जविच हुने आयोजकले जनाएको छ ।