
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा उहाँले खोप अभियानको उद्घाटन गर्नुभएको हो ।
आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । नेपालमा पहिलो पटक यो खोप दिन लागिएको हो ।
१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध समेत गरेको छ ।
नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो ।