नेकपा एमालेले विद्यासुन्दर शाक्यको ५ वर्षको कामको मूल्याङ्कन गर्ने

काठमाडौं।  नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गर्नुभएका कामको मूल्याङ्कन गर्ने भएको छ ।

आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आउनुभएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरमा को मेयरको उम्मेदवार हुने भन्ने सन्दर्भमा विद्यासुन्दरजीले ५ वर्षमा गरेको कामको हामी मूल्याङ्कन गछौँ। त्यसपछि मात्रै हामी को उम्मेदवार हुने तय गछौँ । उम्मेदवार हुन खोज्नु त ठूलो कुरा भएन, पहिला जनप्रतिनिधि भइसकेकाहरु पुनः उम्मेदार हुने हो भने उनीहरुको कामको मूल्याङ्कन गर्ने भन्ने कुरा भएको छ । नयाँ मान्छेहरु कसरी आउँछन्, त्यही अनुसार कुरा गरेर जाने हो ।’

नेता राईले यही चैत २८ गतेपछि बैठक बसेर उम्मेदवार छनौटका लागि गृहकार्य सुरु गरिने बताउनुभयो । उहाँले पार्टीले व्यक्ति व्यक्तिले पार्टीको उम्मेदवारीको घोषणा गर्दै नहिड्न समेत निर्देशन दिएको बताउनुभयो ।

एमालेबाट काठमाडौंमा महानगर प्रमुखका दावेदारमा मेयर शाक्य र एमाले बागमती प्रदेश सांसद समेत रहनुभएका केशव स्थापितको नाम चर्चामा रहेको छ ।

पार्टीले टिकट दिएका पुन उम्मेदवारी दिने बताउँदै आउनुभएका शाक्य पछिल्लो समय महानगरभित्र भएका कामहरुको उद्घाटनमा ब्यस्त रहने गर्नुभएको छ ।

Back to top button