पत्रकारिता क्षेत्रलाई सक्दो सहयोग गछौँ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारको क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले आज आयोजना गरेको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

उहाँले पत्रकारिता पेसा जिम्मेवार पेसा भएकाले कहिलेकाहीँ जिम्मेवार पूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुने बताउँदै जिम्मेवारपूर्वक काम गर्न आग्रहसमेत गर्नुभयो ।

‘पत्रकारिता पेसा जिम्मेवारपूर्ण, शक्तिशाली पेशा भएकाले यसमा कहिलेकाही जिम्मेवारपूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुन्छ’ ,उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारको हकहितका लागि महत्त्व दिएको बताउँदै आर्थिक कार्यक्षेत्र र ऐन कानुनको सीमाले भ्याएसम्म यो क्षेत्रलाई सहयोग गर्ने बताउनुभयो।

उहाँले पत्रकार महासंघ जिल्ला शाखाको भवन एकमुष्ट सम्भव नभए पनि प्रदेश सरकारको आर्थिकरुपले भ्याएसम्म सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।

Back to top button