आज चैती छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

जनकपुरधाम । आज चैत शुक्ल षष्ठी तिथी अर्थात चैती छठ पर्व । मिथिला क्षेत्रसहित तराइका विभिन्न क्षेत्रमा आज यो पर्व श्रद्धा र निष्ठापूर्वक मनाईदैछ ।

आज व्रतालुले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् भने भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुनेछ। चैती छठ चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ।

कार्तिक शुक्लमा मनाइने छठ पर्व जति चर्चित नभए पनि चैती छठ पर्व मान्नेहरुको संख्या पनि वर्षेनी बढ्दै गएको पाइन्छ । कात्तीक शुक्ल र चैत शुक्लमा मनाइने छठ पर्वको विधि भने एउटै रहेको श्रद्धालुहरुको भनाई छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्यको उपासना गर्ने गरिन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा डुबेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। छठपर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री व्रतालुले अर्घ्यका वेला सूर्यतर्फ देखाउने गर्छन्।

छठ सूर्य र सूर्यपत्नी षष्ठीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि प्रारम्भ गरेको मानिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

Back to top button