जिम्मेवारी फेरीएपछि दिलेन्द्रप्रसाद बडूले गर्नुभयो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ ।

तत्कालीन मन्त्री राजकिशोर यादव सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएसँगै १० महिनादेखि खाली रहेको उद्योग मन्त्रालयले आज नयाँ मन्त्रीका रुपमा बडूलाई पाएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्दै यसअघि कानुनमन्त्री रहेका बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिनुभएको हो । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण, अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनःचलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दीर्घकालीन समस्या एवं चुनौतीहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताउनुभयो । यसअघि मन्त्री बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आउनुभएको हो ।

Back to top button