
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्यानाकर्षण पत्र बुझाएपछि निर्वाचन आयोगले स्थानीय निर्वाचन आचारसंहिता सम्बन्धमा थप निर्णय हुनसक्ने बताएको छ।
नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज निर्वाचन आचारसंहिताबारे अध्ययन गरेर थप निर्णय गर्न सकिने बताउनुभएको हो ।
‘प्रमुख प्रतिपक्षी दलबाट आचारसंहिता सम्बन्धमा केही कुरा उठेको छ। यो विषयलाई आयोगले गम्भीररुपमा लिएको छ,’ उहाँले भन्नुभयो । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा एमालेले लिखितरुपमै ६ बुँदे असहमति जनाएको थियो।
महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर असहमति राख्नुभएको हो । प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न पाउनुपर्ने, मतपत्र निलो बनाउनुपर्ने लगायत माग एमालेले अघि सारेको छ।