
सर्लाही । हराएका ८ वर्षे बालकको शव छिमेकीकै सेफ्टि ट्याङ्किमा भेटिएपछि सर्लाहीको मलंगवा नगरपालिका– १२ को गम्हरिया गाउँ शोकमग्न भएको छ ।
गत चैत २० गते राति ८ बजेदेखि हराएका बालकको शव आज विहान छिमेकीको सेफ्टी ट्यांकीमा लुकाएको फेला परेको हो । दिपेन्द्र ठाकुरको ८ वर्षीय छोरा मिठू भनिने आकाश ठाकुरको शव बिहान फेला परेको प्रहरीले जनाएको छ ।
चैत २० गते राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको खबर प्रहरीमा गरेका थिए ।
बालक हराएको जानकारी पाएलगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदिश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसन्धान अधिकृतले बताउनु भएको छ ।
पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आज बिहान सेफ्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ ।
बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुरसहित उनको परिवारका ७ जना सदस्यहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भयो । अहिलेसम्म बालकको खोजिमा जुटेको प्रहरीले शव फेला परेसँगै थप अनुसन्धान थालेको जनाएको छ ।‘आज बालकको शव फेला पर्यो प्रहरी नायब उपरीक्षक बुढाथोकीले भन्नुभयो‘बाँकी घटनाक्रम थप अनुसन्धानबाट छिट्टै खुल्छ ।’
छोराको शव देख्नेबित्तिकै मृतक बालककी आमा महासुन्दर ठाकुर पटक–पटक अचेत हुनुभएको छ । वैदेशिक रोजगारीमा रहनुभएका बुबा दिपेन्द्र छोरा बेपत्ता भएको खबर पाएपछि दुई दिनअघि मात्र घर आइपुग्नुभएको छ । आकाश दिपेन्द्रका जेठा छोरा हुन् भने उहाँका १ वर्षका अर्का एक छोरा र दुई छोरी छन् ।