मोरङमा स्थानीयतहका लागि वडाका उम्मेदवारको नाम एमालेले आज टुङ्ग्याउँदै

विराटनगर । नेकपा एमाले मोरङले स्थानीय तह निर्वाचनका लागि सबै वडाको उम्मेदवारहरुको नाम आज टुङ्ग्याउने भएको छ ।

१७ वटै पालिकाका १ सय ५९ वटै वडामा उम्मेदवारको टुङ्गो लगाइने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभएको छ ।

अध्यक्ष पोखरेलका अनुसार सर्वसम्मत रुपमा नै सबै वडा सदस्य र अध्यक्षमा उम्मेदवारी दिनेको नाम टुङ्ग्याउने तयारी गरिएको छ । उम्मेदवारको नाम यकिन गर्न पालिका र वडा संयन्त्रको छुट्टाछुट्टै बैठक बस्ने छ ।

बैठकले नाम टुङ्गो लगाउन नसकेमा एक पदका लागि बढीमा तीन जनाको नाम सिफारिस गर्न सकिने गरी निर्देशन दिइएको एमाले जिल्ला सचिव रुपेश खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेको नाम भने भोलि टुङ्गो लगाउने तयारी छ । प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेको नाममा पनि सर्वसम्मत प्रकृयाबाटै टुङ्गिने उहाँले विश्वास ब्यक्त गर्नुभएको छ ।

Back to top button