राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ?

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लागुहुने पूर्वसन्ध्यामा व्यापक रूपमा राजनीतिक नियुक्ति गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले राजनीतिक भागबन्डाका आधारमा विभिन्न नियुक्ति गरेको हो । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ ।

सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सह–सचिव छन् भने १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । यसैगरी, मन्त्रिपरिषद्ले अन्य कैयौं नियुक्तिहरू गरे पनि त्यसलाई गोप्य राखिएको छ ।

आचारसंहिता लागे पनि पुरानै मितिमा निर्णय गरिएको सन्देश दिन कैयौं नियुक्तिमा सैद्धान्तिक सहमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कुनै नियुक्ति तथा सरुवा बढुवा गर्न पाउनेछैन ।

राजदूत नियुक्तिको सिफारिसमा नेकपा एकिकृत समाजवादीको कोटामा सोहि पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत पर्नुभएको छ ।

पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको बताइएको छ । त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुनुहुन्छ ।

चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा पर्नुभएको छ । यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर पाउनुभएको छ ।

यसअघि श्रीलंकाको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस हुनुभएको छ ।

रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस हुनुभएको छ भने श्रीलंकामा बासुदेव मिश्र सिफारिसमा पर्नुभएको छ । उहाँहरू सबै राजनीतिक दलको कोटाबाट सिफारिस हुनुभएको हो ।

त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस हुनुभएको छ । परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । – राजधानी दैनिक

Back to top button