उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ सम्पन्न

विराटनगर । आज चैत शुक्ल सप्तमी तिथी । बिशेषगरि आज तराईका क्षेत्रमा श्रद्धालुहरुले उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व सम्पन्न गरेका छन् ।

सूर्यको पहिलो किरणलाई अरुघ्य दिन व्रतालुहरू बिहानैदेखि जलासय किनारमा भेला भएका थिए । निर्जल उपवास बसेका व्रतालुहरूले हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए ।

तराई मधेशमा महान तथा कठोर पर्वको रुपमा लिइने छठ पर्वलाई श्रद्धालुहरुले भक्तिभावका साथ मनाउने प्रचलन रहेको छ । बिशेषगरि यो पर्व मधेश प्रदेशमा बढी मनाउने गरिएको पाइन्छ ।

हिजो जलासयमा बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालु तथा श्रद्धालुहरुले बिहान उदाउँदो सूर्यको उपसना गर्दै अर्घ्य दिएका हुन् । चैती छठ चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ।

कार्तिक शुक्लमा मनाइने छठ पर्व जति चर्चित नभए पनि चैती छठ पर्व मान्नेहरुको संख्या पनि वर्षेनी बढ्दै गएको पाइन्छ । कात्तीक शुक्ल र चैत शुक्लमा मनाइने छठ पर्वको विधि भने एउटै रहेको श्रद्धालुहरुको भनाई छ ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा डुबेर अर्घ्य दिइन्छ, जसलाई स्थानीय भाषामा ‘सझुका अरख’ भनिन्छ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। छठपर्वमा ठेकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री व्रतालुले अर्घ्यका वेला सूर्यतर्फ देखाउने गर्छन् ।

छठ सूर्य र सूर्यपत्नी षष्ठीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि प्रारम्भ गरेको मानिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

Back to top button