नबिल एसएसईअन्तर्गत सामाजिक उद्यम प्रवर्द्धन गर्न सातै प्रदेशमा आवेदन खुला

काठमाडौं । नबिल बैंकले सञ्चालन गरेको गैरनाफामूलक कार्यक्रमन बिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ।

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल एसएसईअन्तर्गतका फेलोसिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचअन्तर्गतको आवेदन आह्वान गरिएको हो।

फेलोसिप कार्यक्रम भने यसअघि नै सुरु भइसकेको बैंकले जनाएको छ। प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जालगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धनलाई जोड दिएको छ।

सामाजिक प्रभाव सृजना गर्ने कुनै परियोजना वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य रहेको बैंकले जनाएको छ। बैंकका अनुसार यसले दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्नेछ।

यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ। यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गरिनेछ।

आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्डअनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन्।

आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनोट गरिने बैंकले जनाएको छ। छनोटमा परेकाहरुलाई सामाजिक उद्यमशीलतासम्बन्धी विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ।

तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानीयोग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन्।

Back to top button