
काठमाडौं । अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन अर्थमन्त्री नै सक्रिय भन्ने समाचारहरु आएपछि अर्थमन्त्री जनार्दशन शर्माले राष्ट्र बैंकको गोप्य सूचना मिडियालाई किन दिइयो भन्दै आक्रोश पोख्नुभएको छ ।
आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु मिडियालाई दिनु अनुशासनहीन काम भएको बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो,‘रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडिया दिने काम भएको छ ।’
उहाँले शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा नै रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना आफूले पाएको समेत बताउनुभएको छ । उहाँले प्रश्न गर्दै भन्नुभयो,‘कुनै नागरिक समस्या परेर निवेदन दिँदै के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ ?’ उहाँले राष्ट्र बैंकमा बदमासी भइराखेको समेत बताउनुभयो ।
शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन सञ्चालक समितिकै एक सदस्यले ३० हजार डलर माग गरेको सूचना आफूलाई आएको मन्त्री शर्माले बताउनुभयो । उहाँले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले एकिन रेकर्ड पनि माग गर्नुभएको छ ।