
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक संकट भने नरहेको बताउनुभएको छ । श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको उहाँको भनाइ छ।
सिंचाइ दिवसको अवसरमा जलस्रोत तथा सिंचाइ विभागले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छन्।’
उहाँले आगामी दिनमा सिंचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभयो। राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले त्यो भेगमा सिंचाइ सुविधा पुर्याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो।
पहाडी र हिमाली भेगमा सिंचाइ पुर्याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ।
‘पहाड र हिमाली भेगका जग्गाजमिनमा सिंचाइको व्यवस्था पु¥यायौँ भने त्यसले खाद्यान्नमा योगदान गर्न सक्नेछ। त्यसले रोजगार पनि त्यहीँ सृजना गर्छ। खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ’, उहाँले भन्नुभयो, ‘अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ। राष्ट्रले ठूलो लगानीमा गरेको भौतिक पूर्वाधारको पनि भरपुर उपयोग हुन्छ। त्यतातिर केन्द्रित हौँ।’
मन्त्री भुसालले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।