
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनका लागि भन्दै पार्टी एकता गर्दा प्रचण्ड–माधवलाई बहुमत दिएको बताउनुभएको छ ।
एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चार सीट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि नै झम्टिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन दुनिया षडयन्त्र गरी बहुमतको दुरुपयोग गरे ।’ उनीहरुले बहुमत दिनेकै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाएको उहाँले बताउनुभयो ।
‘माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन्’ ? अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयो,‘पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । अब तीन सिट ल्याएर देखाउन् ।’ अध्यक्ष ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनु भयो ।
यस्तै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको उहाँले बताउनुभएको हो ।
नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन बनाएका छन् तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् भन्दै उहाँले भन्नुभयो ‘विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समूह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ ।’
अध्यक्ष ओलीले डा. गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दिम भन्दा सरकार डरले थरथर हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एकजना भन्छ,हस्पिटल खोल्ने? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।’ विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँदै इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्ने गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले कोरोना महामारीको समयमा आफू नेतृत्वको सरकारले जनताको मनोवल बढाउने काम गरेको बताउनुभयो । कुनै पूर्व तयारी नभएको अवस्थामा पनि कोरोना भाइरसलाई परास्त गर्न सकिएको भन्दै उहाँले अहिलेको जस्तो सरकार भएको भए के हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो ।
आफु नेतृत्वको सरकारले जनताको मनोवल बढाउन सवै प्रकारका भाइरसको अन्त्य गर्न सक्छौ भन्यौं, तातो पानी खाने, बेसार पानी खाने, फ्रिजको नखाने, अम्बाको पात उमालेर खाने, हाम्रो भान्साका खाने कुरा मात्रै खाने, हाम्रो भान्सामै औषधी छ भनेको स्मरण गराउनुभयो ।