आफ्नो अक्षमता छोप्न गभर्नरलाई निशाना बनाइयोः बिष्णु रिमाल

काठमाडौं । नेकपा एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निशाना बनाएको टिप्पणी गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ,‘ आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे, ढङ्ग मरु, कसो गरूँ ? निरन्तर बिग्रीरहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसँग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थमन्त्रीजी, अर्थ कै बैधानिक सल्लाहकार– गभर्नरलाई निलम्बन गरेर महान काम गर्नुभयो, क्यावात् ।’

उहाँले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको उल्लेख गर्नुभएको छ । ‘हिजो अस्ति के कसो करोड–सरोडको चर्चा हुनु, आज “अटेर गभर्नर” लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

स्रोत नुखुलेको ४० करोड रूपैयाँ छुटाउन गभर्नर अधिकारीमाथि अर्थमन्त्रीले दबाब दिएको विषय सञ्चारमाध्यम आएपछि सरकारले गभर्नरलाई निलम्बन नै गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवहाक गभर्नरको जिम्मेवारी दिइएको छ ।

Back to top button